
विराटनगर । विराटनगर-३ वरगाछीमा सडक दुर्घटना हुँदा पुनः स्तम्भ भत्किएको छ । आज बिहानको राति नेमुवाबाट रानीतर्फ जाँदै गरेको यूपी २२ पी ९५७२ नम्बरको भारतीय ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १-०२ ख ८८८८ नम्बरको ट्याङ्कर ठोक्किँदा स्तम्भ भत्किएको हो ।
दुर्घटनामा ट्याङ्कर चालक बाराको अमलेखगञ्ज नगरपालिका-२२ का ३३ वर्षीय पञ्चलाल लुम्बा घाइते भएका छन् । उनको विराट नर्सिङ होममा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख राजन लम्सालले जानकारी दिए ।
भारतीय ट्रकका चालक उत्तर प्रदेश रामपुर-१ का ३२ वर्षीय मो. मुस्ताकलाई वडा प्रहरी कार्यालय विराटनगरले नियन्त्रणमा लिएको छ । ट्याङ्करले हतारमा बाटो क्रस गर्दा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
रातिको समयमा ट्राफिक नहुने हुँदा चालकहरूले लापरबाही गर्दा पनि दुर्घटना बढेको लम्साल बताउँछन् । ‘ट्राफिक नबसेपछि तीब्र गतिमा गाडी चलाउने कारणले पनि दुर्घटना भएको हो’, उनले भने, ‘रातिको समयमा थप सचेत हुन आवश्यक छ ।’
बरगाछीमा बारम्बार दुर्घटना
यसअघि पनि बरगाछीमा बारम्बार दुर्घटना हुने गरेको थियो । यसअघि २०७८ बैशाखमा २१ गते राति ना ७ ख १४३७ नम्बरको ट्रकले ठक्कर दिँदा पनि स्तम्भ भाँचिएको थियो । त्यो भन्दा अगाडि बरगाछीमा रूख थियो ।

तर सडक विस्तारका क्रममा रूख काटिएपछि लायन्स क्लब अफ विराटनगरले स्तम्भ बनाएको थियो । उक्त स्तम्भ पनि भत्किएपछि कृष्णप्रसाद कोइरालाको सालिक स्थापना गरिएको थियो ।
सोही स्थानमा स्थापना गरिएको सालिकमा पनि निर्माण गरिएको करिब एक वर्षपछि अर्थात २०८० असोज १८ गते राति मालबाहक ट्रक ठोक्किएको थियो । साँझ ९ बजेतिर कञ्चनबारीतर्फबाट आएको ना ३ ख ४५७९ नम्बरको ट्रकले ठोक्किँदा सालिक भाँचिएको थियो ।

सो दुर्घटनामा चालक घाइते भएका थिए । सालिक भत्किएपछि राखिएको सामान्य स्तम्भमा पनि आज बिहानको राति भएको दुर्घटनाले क्षति पुर्याएको छ । स्तम्भमा बरको बिरुवा समेत रोपिएको छ ।

संगालोखबर 













