विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-१ का २० वर्षीय कुशेश्वर मेहतालाई ठूलो रकम ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । आफू थाइल्याण्डमा रहेको एसआईएएम कमर्सियल बैंकको म्यानेजर बताउँदै ६२ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मेहतालाई कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल-भारत सीमा क्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनले ६२ लाख ७५ हजार दुई सय रुपैयाँ ठगी गरेको खुलेको खतिवडाको भनाइ छ ।
प्रहरीका अनुसार भानिडा सुवान नामक फेसबुकको म्यासेन्जरबाट आफ्नो नाम फुएङ्ग भानिडा बताउने व्यक्तिले सम्पर्क गरेर थाइल्याण्डको एसआईएएम कमर्सियल बैंकको मेनेजर दाबी गर्दै एलेन आरबी शाहीको नाममा यस बैंकमा खाता छ भनी कुर्मराज शाहीलाई उनले ठगी गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शाहीको नाममा बैंक खाता रहेको र उसको अपुताली सम्पत्ति खाने कोही नभएकाले तपाईंको नाम एलेन आरबी शाहीको थरसँग मिल्दोजुल्दो भएकाले उनको खातामा रहेको रकम सबै ल्याउन सकिने भनेर उनले कुर्मराजलाई गठी गरेका थिए ।
मेहताले विश्वास दिलाएपछि कुर्मराजले पटक-पटक गरेर उक्त रकम बिभिन्न बैंक खाताहरूमा लगाइदिएका थिए । ठगी भएको थाहा पाएपछि कुर्मराजले प्रहरीमा जाहेरी दिएका थिए ।
सोही आधारमा प्रहरीले उनको खोजी गरिरहेकोमा मंगलबार पक्राउ गर्न सफल भएको हो । उनलाई आवश्यक कारबाहीका लागि सुनसरी प्रहरीले नेपाल प्रहरीको साइबर ब्युरोमा पठाएको छ ।