
विराटनगर । मोरङको विराटनगर स्थित हाटखोला कारागारमा सजाय भुक्तान गरिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।
कारागार प्रशासनका अनुसार मोरङको सुनवर्षी नगरपालिका-२ का २४ वर्षीय उमेश दर्जीको मृत्यु भएको हो । उनी लागूऔषध मुद्दामा दोषी ठहर भएर सजाय भुक्तान गरिरहेका थिए ।
कारागारका जेलर गौरव ढुंगेलका अनुसार दर्जीको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मंगलबार साँझ मृत्यु भएको हो । ज्वरो आउने र खुट्टा सुन्निने समस्या भएपछि उनलाई उपचारका लागि जेठ ३० गते अस्पताल भर्ना गरिएको थियो ।
सुरुमा कोशी अस्पतालमा भर्ना गरिएपनि उपचार सम्भव नभएपछि असार ३ गते विराट टिचिङ भर्ना गरिएको थियो । २०८१ पुस ४ गतेदेखि कारागारमा रहेका उनलाई जिल्ला अदालत मोरङले ५ वर्ष २ महिना कैद र ७ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो ।

संगालोखबर 













