संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको बजेट चालू आर्थिक वर्षको तुलनामा करिब ५० करोड बढी हो । जसमा विभिन्न श्रोतहरूलाई आयको माध्यम बनाइएको छ ।

चालू आर्थिक वर्ष २०८१/८२ मा तीन अर्ब ५० करोड ३० लाख ८६ हजारको बजेट प्रस्तुत गरेको महानगरले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ४० लाखको बजेट सार्वजनिक गरेको छ । तर महानगरले चालू आर्थिक वर्षमा विभिन्न शीर्षकबाट ६५ प्रतिशत मात्रै आय गर्न सफल भएको छ । महानगरको लक्ष्य अनुसार अझै ३५ प्रतिशत आय हुन बाँकी छ । तर आर्थिक वर्षको अन्त्य हुनै लाग्दा सोचेअनुरूपको सबै आय हुनसक्ने अवस्था छैन ।

Advertisement

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा महानगरले दुई अर्ब २६ करोड ३५ लाख २३ हजार २०७ रुपैयाँ आय गरेको छ । अर्थात यो लक्ष्यको ६५ प्रतिशत मात्रै आय भएको हो । महानगरपालिकाका अनुसार वित्तीय अनुदानतर्फ संघीय सरकारबाट ३२ करोड ६६ लाख आय हुने अनुमान गरिएकोमा २९ करोड ९६ लाख ८८ हजार, प्रदेश सरकारबाट दुई करोड ४९ लाख २९ हजार आय हुने अनुमान गरिएकोमा सबै रकम प्राप्त भएको छ ।

यसैगरी राजस्व बाँडफाँडतर्फ मूल्य अभिवृद्धि करबापत १६ करोड १६ लाख अनुमान गरिएकोमा ११ करोड ८९ लाख ३३ हजार, अन्तशुल्कबापत पाँच करोड ८६ लाख ९८ हजार अनुमान गरिएकोमा पाँच करोड २१ लाख ८४, मनोरञ्जन कर बापत ४० लाख अनुमान गरिएकोमा २९ लाख ३६ हजार आय भएको महानगरले जनाएको छ ।

यस्तै विज्ञापन कर  वापत ६० लाख अनुमान गरिएकोमा ३८ लाख ९५ हजार, सवारी साधन कर वापत तीन करोड ८७ लाख अनुमान गरिएकोमा तीन करोड ८९ लाख आठ हजार र घरजग्गा रजिष्ट्रेसन बापत ५६ करोड ६४ लाख ७३ हजार अनुमान गरिएकोमा २७ करोड ८७ लाख १९ हजार रुपैयाँ प्राप्त भएको महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले उल्लेख गरिन् ।

आन्तरिक राजश्वतर्फ एक अर्ब १० करोड ७९ लाख अनुमान गरिएकोमा ४३ करोड ८५ लाख ४३ हजार मात्रै आय भएको छ । संघीय सरकार सशर्त अनुदानतर्फ ८० करोड ८४ लाख अनुमान गरिएकोमा ७७ करोड ८४ लाख, विशेष अनुदानतर्फ ७ करोड ५० लाख अनुमान गरिएकोमा चार करोड ५ लाख र समपूरक अनुदानतर्फ एक करोड १० लाख अनुमान गरिएकोमा ४३ लाख मात्रै प्राप्त भएको महानगरले जनाएको छ ।

यसैगरी प्रदेश सरकार सशर्त अनुदानतर्फ ४ करोड २२ लाख ४३ हजार अनुमान गरिएकोमा सोही बराबरको रकम प्राप्त भएको छ भने समपूरक अनुदान तर्फ दुई करोड अनुमान गरिएकोमा एक करोड ३२ लाख मात्र प्राप्त भएको छ  ।

अन्य संघसंस्था अनुदान वापत १४ लाख ५५ हजार अनुमान गरिएकोमा सात लाख ५९ हजार अनुदान प्राप्त भएको छ भने सडक बोर्डतर्फ एक करोड ५० लाख अनुमान गरिएकोमा २२ लाख ५२ हजार प्राप्त भएको महानगरले जनाएको छ ।

यसैगरी नगर विकास कोष ऋण बापत एक करोड अनुमान गरिएकोमा हालसम्म उक्त ऋण नलिइएको उपप्रमुख  कार्कीले बताइन् । मौज्दात बापत २२ करोड ५० लाख अनुमान गरिएकोमा १२ करोड २९ लाख ९४ हजार ४ सय ९६ मात्र यथार्थ मौज्दात भएको छ ।

चालू आर्थिक वर्ष जेठ मसान्तसम्म अनुमान गरिएको कुल आयको एक अर्ब ७३ करोड ८३ लाख ९३ हजार ९० रुपैयाँ अर्थात ५० प्रतिशत मात्र खर्च भएको महानगरले जनाएको छ । चालु खर्चतर्फ एक अर्ब ७८ करोड १५ लाख ८६ हजार सात सय अनुमान गरिएकोमा एक अर्ब २० करोड २३ लाख ३६ हजार चार सय ३८ रुपैयाँ अर्थात ६७ प्रतिशत मात्र खर्च भएको छ ।

पूँजीगततर्फ एक अर्ब ६७ करोड १४ लाख ९९ हजार तीन सय अनुमान गरिएकोमा ५१ करोड नौ लाख ८० हजार चार सय ८८ रुपैयाँ अर्थात ३१ प्रतिशत मात्र खर्च भएको छ । वित्तीय खर्चतर्फ पाँच करोड अनुमान गरिएकोमा जेठ मसान्तसम्ममा दुई करोड ५० लाख ७६ हजार एक सय ६४ रुपैयाँ खर्च भएको महानगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!