विराटनगर । कोरोना संक्रमण पुष्टि भएकी एक महिलाको आज विराटनगरमा मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा इलामको सूर्योदय नगरपालिका घर भएकी ४१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
झापाको विर्तासीटी अस्पतालमा उपचारका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । एक साता अघिदेखि ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भएकी उनलाई थप उपचारका लागि आज बिहान करिब ४ बजे नोबेल अस्पताल ल्याइएको थियो ।
उपचारकै क्रममा बिहान करिब ६ बजे उनको मृत्यु भएको नोबेल अस्पतालका महाप्रबन्धक दिपेश राईले जानकारी दिए । ‘उहाँलाई राती ४ बजेतिर इमर्जेन्सीमा ल्याएर भर्ना गरिएको थियो,’ महाप्रबन्धक राईले संगालोखबरसँग भने, ‘इमर्जेन्सीमै उपचारका क्रममा दुई घण्टापछि ६ बजे मृत्यु भयो ।’
छिमेकी मुलुक भारतमा कोरोना संक्रमण फैलिएसँगै नेपालमा पनि संक्रमित फेला पर्न थालेका छन् ।
प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कोशी प्रदेशका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा झापाका ४ तथा मोरङ र इलाममा २/२ जना छन् ।