विराटनगर । भारतको जोगबनीबाट विराटनगर आउनेक्रममा सिटी सफारीमा छुटेको नगदसहितको सामान फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ ।
प्रदेश १-००२ ह ३९३० नम्बरको सीटी सफारीमा विराटनगरतर्फ आउने क्रममा नगदसहितको झोला, मोबाइल र कागजपत्र हराएको भनेर विराटनगर महानगरपालिका-५ का ८० वर्षीय ईश्वरप्रसाद उपाध्यायले प्रहरीमा निवेदन दिएका थिए । सोही आधारमा प्रहरीले सीसी क्यामेरा फुटेज अध्ययन गर्दा सफारी पत्ता लागेको हो ।
प्रहरीले सफारी पत्ता लगाएपछि चालक विराटनगर-६ सरौचियाका २७ वर्षीय हरिश साहलाई बोलाएर सोमबार वृद्धलाई नगदसहितको सामान बुझाइएको हो ।
आइतबार अपरान्ह जोगवनीबाट आएका उपाध्याय विराटनगर-५ स्थित रामजानकी चोकमा ओर्लिएका थिए । उनले नगद ७७ हजार पाँच सय रुपैयाँसहितको झोला र मोबाइल सफारीमै बिर्सिएका थिए ।