विराटनगर । मोरङको हरैंचास्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक निरबहादुर खड्का कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले खड्कालाई जेठ महिनाको ‘वेष्ट पुलिस अफ दी मन्थ’ घोषणा गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयले प्रदेशका १४ वटै जिल्लामा कार्यरतहरुबाट छानेर हरेक महिना एक/एक जनालाई सर्वोत्कृष्ट प्रहरी घोषित गरी राम्रो कामका लागि प्रोत्साहन गर्ने गरेको छ ।
विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ काम गर्ने प्रहरीलाई उत्कृष्ट घोषित गर्ने गरिएको छ । सोही अनुसार खड्का सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् ।
खड्काले ३४७ किलो गाँजा नियन्त्रणमा लिएको, १४ जना फरार अभियुक्त पक्राउ गरेको, मृतकको गहना माटोमुनि लुकाएको अवस्थामा पत्ता लगाएको लगायत घटनालाई मुल्यांकन गरेर सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।