विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट हर्बल प्रोडक्टहरूको मार्केटिङ गर्न आएका दुई बालिकाको उद्धार गरिएको छ । प्रहरीका अनुसार इटहरी-९ स्थित वन्दना होटलबाट उनीहरूलाई उद्धार गरिएको हो ।
काठमाडौं चाबहिलमा कार्यालय रहेको वेल्स ग्लोबल इन्टरनेसनल प्रा.लि.ले केही दिनअघि १२ जना किशोरीहरूलाई मार्केटिङका लागि इटहरी ल्याएको थियो । सिन्धुपाल्चोककी २२ वर्षीया एक युवतीले आफूलाई असार १ र २ गते शरीर बन्धक बनाएर यौन दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरेको थियो ।
सोही आधारमा प्रहरीले कम्पनीका टुर म्यानेजर ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका-१ का २९ वर्षीय तिलक श्रेष्ठ र सोलुखुम्बु नेचासल्यान गाउँपालिका-४ की २२ वर्षीया टीका कट्टेललाई नियन्त्रणमा लिएको छ ।
उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीका अनुसार वेल्स ग्लोबल इन्टरनेसनलले टिकटकमार्फत हर्बल सामग्रीको मार्केटिङका लागि विज्ञापन गरेको थियो ।
सोही विज्ञापन हेरेर धनकुटा, सोलुखुम्बु, सिन्धुली, रामेछाप, गोरखा, बाजुरा लगायतका युवायुवती कम्पनीमा पुगेका थिए । सुरुमा एक महिना काठमाडौंमा नै काम गराएर पछि इटहरी ल्याएको खुलेको प्रहरीले जनाएको छ ।
‘१२ जना बालिका तथा किशोरीमध्ये एक जनाले घर जान्छु भन्दा जान नदिएको रहेछ’, डीएसपी भण्डारीले संगालोखबरसँग भने, ‘त्यही हिसाबले हामीले अनुसन्धान अघि बढाउँदा सबैजनालाई ल्याएर सोधिखोजी गर्दा अन्यले हामी काम गर्न आएको हो भन्दै प्रतिवाद गरे । दुई जनाको चाँहि उद्धार भएको छ ।’
दुई जना बाहेक अरु सोही होटलमा नै रहेको र मार्केटिङको काम गरिरहेको उनले जानकारी दिए । यस्तै उनीहरूका आफन्तलाई पनि जानकारी गराइसकेको डीएसपी भण्डारीले बताए । उद्धार गरिएका दुई जनालाई प्रहरीको निगरानीमा संस्थाको संरक्षणमा राखिएको छ ।