विराटनगर । विराटनगर-३ पञ्चेश्वर मन्दिरअगाडि टिपरले स्कुटरलाई टक्कर दिँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका-१२ का ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको हो ।
दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ क ९५३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको प्र १-०२-०४८ प ३७८१ नम्बरको स्कुटरलाई बुधबार दिउँसो २ः३० बजेतिर ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट स्कुटरको पछाडि सवार बजगाईं गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीका अनुसार स्कुटर चालक २० वर्षीय प्रितम बजगाईं सकुशल छन् ।
टिपर चालक मोरङको कानेपोखरी गाउँपालिका-३ का ३३ वर्षीय कुलदीप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । स्कुटरले ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।