
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० पानीपियामा पति-पत्नी सवार मोटरसाइकल दुर्घटना हुँदा पत्नीको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-१ की ४५ वर्षीया हिरा निगाले छिन् ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी हिरा र सामान्य घाइते भएका उनका पति ५३ वर्षीय राजेन्द्र श्रेष्ठलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याइएको थियो । हिराको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो प्र १-०२-०५० प ३५६४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको थियो । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।