विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहराबाट प्रहरीले तरकारी बोकेको ट्रकबाट २१ सय किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा ट्रक चालक धनकुटाको सहिदभुमि गाँउपालिका-६ का ३२ वर्षीय राजेन्द्र राई र ट्रकमा सवार सोही स्थानका ३३ वर्षीय सुनिल राई छन् ।
आज बिहानको राती १ः३० बजेको समयमा गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार ट्रकबाट ७० बोरा गाँजासहित ४८ बोरा बन्दाकोपी र १२ बोरा आलु पनि लोड गरिएको थियो ।
सुनसरी प्रहरीका निमित्त प्रवक्ता इन्स्पेक्टर दिनेश अधिकारीका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको ना ५ ख ६११६ नम्बरको सेतो कलरको मिनिट्रकमा बन्दाकोपी र आलुको बोराले छोपेको अवस्थामा गाँजा बरामद भएको हो । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।
‘धनकुटा लगायतका जिल्लाबाट गाँजा ल्याएर विभिन्न स्थानमा राख्ने गरेको पाइन्छ’, निमित्त प्रवक्ता अधिकारीले संगालोखबरसँग भने, ‘भण्डारण गरेको गाँजा तस्करहरूले मौका हेरेर खुला सिमानाको फाइदा उठाउँदै भारत तस्करी गर्ने गरेको पाइन्छ । सुनसरी प्रहरीले यसमा विशेष निगरानी बढाएको छ ।’
कतिपय अवस्थामा मुख्य गाँजा तस्कर पहिचानमा समस्या हुने गरेको उनको भनाइ छ । ‘तस्करहरूले भरिया प्रयोग गरेका हुन्छन्’, उनले भने, ‘तर भरियाहरूले उनीहरूको पहिचान बताउँदैनन् । नाम र ठेगाना पनि सहि बताउँदैनन् । सिमकार्ड पनि आफ्नो नामको प्रयोग गर्दैनन् । पक्राउ परेको मान्छेले सही बताएमा मुख्य तस्कर पनि पक्राउ पर्छन् ।’
नेपालबाट गाँजा लैजाने र भारतबाट ब्राउन सुगर भित्रिने गरेको उनको भनाइ छ । यसको रोकथाम र नियन्त्रणका लागि विशेष निगरानी बढाइएको उनले बताए ।