विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ मा गुडिरहेको मोटरसाइकलमा आगलागी भएको छ । सोमबार बिहान करिब ११ः२७ बजे खनारतर्फ जाँदै गरेको प्र १०-२-०४३ प ६१८४ नम्बरको एनएस मोटरसाइलकमा आगलागी भएको हो ।
आगलागीबाट मानवीय क्षति नभएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । मोटरसाइकल चालक दुहबी-४ का एमडी रोशन खान सकुशल रहेका प्रहरीले जनाएको छ ।
आगलागीको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले दमकल र स्थानीयको सहयोगमा ११ः४० बजे आगो नियन्त्रणमा लिएको थियो ।
आगलागीबाट दुई लाख मूल्य बराबरको क्षति भएको डीएसपी खतिवडाले बताए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।