विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ मा करेन्ट लागेर पति-पत्नीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बू छन् ।
आज बिहान मदेनी खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा उनीहरूलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको खुलेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार उनीहरूको बिहान ९ः४० बजेतिर मृत्यु भएको हो । माछा मार्नलाई बिजुलीको पोलबाट हुक लगाएर खोलामा करेन्ट प्रवाह गरेको खुलेको छ ।
शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।