विराटनगर । मोरङबाट पसल फोडेर मोबाइल चोरी गर्ने गिरोहका तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर-११ मा डेरा गरी बस्ने २६ वर्षीय रोशन कुमार मण्डल, धनपालथान गाउँपालिका-७ का २२ वर्षीय विशाल कुमार सिंह र भारतको अररिया जिल्लाका १८ वर्षीय कृष पासवान छन् ।
पछिल्लो केही समयदेखि विराटनगरसहित मोरङको दक्षिण क्षेत्रहरूमा चोरीका घटनाहरू बढीरहेकोमा गत बैशाख ११ गते कटहरी गाउँपालिका-४ नयाँ बजार स्थित राज मोबाइल केयरमा चोरी भएको थियो ।
प्रहरीका अनुसार पसल फोडेर ल्यापटप, एन्ड्रोइड र सादा सेटका मोबाइलहरू तथा पसलमा मर्मत गर्न ल्याइएका पुराना मोबाइलहरू चोरी भएका थिए । सो घटनाका सम्बन्धमा मोरङ प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो । सोही आधारमा प्रहरीले जेठ २७ गते विशाललाई पक्राउ गर्न सफल भयो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार विशाललाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा अन्य दुई जनाको पनि संलग्नता पाइएको हो ।
चोरी भएका मोबाइलहरू रोशन कुमारको कोठामा राखेको खुलेपछि खानतलासी गर्दा विभिन्न कम्पनीका मोबाइल सेट बरामद भएको उनले जानकारी दिइन् । मोबाइल सेट बरामद भएसँगै चोरीमा प्रयोग हुने औजारसहित जेठ २९ गते रोशन र कृषलाई पनि पक्राउ गरिएको डीएसपी चुडालको भनाइ छ ।
रोशनको कोठाबाट सादा मोबाइल सेट ८ थान, एन्ड्रोइड मोबाइल सेट २१ थान, विभिन्न कम्पनीका बिग्रिएका मोबाइल सेट ५१ थान, ल्याप्टकको ब्याट्री एक थान, मोबाइलका डिस्प्ले १३ थान र चोरीमा प्रयोग हुने विभिन्न औजारहरू बरामद गरिएको चुडालले जानकारी दिइन् । उनीहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।