
विराटनगर । मोरङको रतुवामाई नगरपालिका-६ कादुपाडामा श्रीमानले कुदाएको स्कुटरको टायर पड्किदा श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका-६ की ५६ वर्षीया बिष्णुकुमारी खड्का छन् ।
आमबारी-उर्लाबारी पक्की सडक खण्डमा शुक्रबार बिहान करिब १० बजे कादुपाडाबाट रंगेलीतर्फ जाँदै गरेका खड्का दम्पती सवार प्र १-०२-४९ प ७५५४ नं. को स्कुटरको टायर पड्किएको हो । विष्णुकुमारीका श्रीमान ६० वर्षीय भवानी बस्नेतले स्कुटर कुदाएका थिए । स्कुटर गुडिरहेका बेला अचानक टायर पड्किदा लडेर गम्भीर घाइते भएकी विष्णुकुमारीलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिएको थियो ।
उपचारकै क्रममा गएराती करिब १ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । ‘टायर पुरानो भई गोटीहरू खिइएर चिल्लो भइसकेको रहेछ,’ ट्राफिक प्रहरी प्रमुख लम्सालले संगालोखबरसँग भने, ‘पातलो भइसकेको टायर तातिएर पड्किएको हुनसक्ने अनुमान गरेका छौं ।’
स्कुटर चालक भवानी भने सकुशल छन् ।

संगालोखबर 













