धनकुटा । धनकुटाका गाईमा लम्पीस्किन रोग देखिएको छ । दुई वर्ष अघि महामारीको रुपमा फैलिएको लम्पीस्किन रोग अहिले पुनः धनकुटा नगर क्षेत्रका गाईमा देखा परेको हो ।
धनकुटा-६ पात्लेखोलाका डिल्लीराम राई र धनकुटा-१० का दुर्गा अधिकारीले पालेको गाईमा लम्पीस्किनको संक्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । संक्रमण देखिएका गाईहरूलाई खोप लगाएको छ ।
लम्पीस्किन रोगको संक्रमणपछि पशुहरूमा ज्वरो आउने, अरुचि हुने र झोक्राउने लक्षणहरू देखा पर्छन् । त्यसको दुई/तीन दिनभित्र पशुको शरीरभरि गिर्खा र गाँठाहरू पलाउँछ र पिप जम्मा भई घाउ बनेर पशुको मृत्यु हुन सक्ने भएकाले सतर्कता अपनाउन पशु सेवा विज्ञ केन्द्रले आग्रह गरेको छ ।
विशेषगरी खोप नलगाइएका गाईभैँसीमा लम्पीस्किनको संक्रमण देखिने गरेको छ । सोही कारण खोप लगाउन पशु सेवा विज्ञ केन्द्रले धनकुटामा करिब १० हजार भाइजर खोप ल्याएको छ ।
धनकुटामा दुई वर्ष अघि १५ हजार भन्दा बढी पशुचौपायामा लम्पीस्किन रोग देखिएको थियो । भाइजर खोज लगाउने क्रम नबढे पुनः महामारी फैलन सक्ने आकलन गरिएको छ ।