संगालोखबर


विराटनगर । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले पदीय जिम्मेवारीमा रहेर आफूले बोल्न नहुने शब्द बोलेको स्वीकार गरेका छन् । चौतर्फी आलोचना भएपछि  उनले एक विज्ञप्ति जारी गर्दै आत्माआलोचना गरेका हुन् ।

उनले भनेका छन्, ‘सो घटनाका क्रममा पदीय जिम्मेवारीमा रहेको म बाट बोल्न नहुने शब्द बोलिएको प्रति म स्वयं आत्मआलोचना गर्दछु ।’ घटना शुक्रबार दिउँसोको हो । कोशी गाउँपालिका-४ कोशी कटानमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा विवाद उत्पन्न भएको थियो ।

Advertisement

सोही क्रममा त्यहाँ पुगेका अन्सारीले ट्राफिक प्रहरीलाई ज्यान मार्ने धम्कीसहित अपशब्द प्रयोग गरेको गाली गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । अन्सारीले सोमबार विज्ञप्ति जारी गर्दै उक्त विषयलाई आफ्नो राजनैतिक जीवनप्रति लक्षित गरेर सामाजिक सञ्जालमा सम्प्रेषण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् ।

‘उक्त घटना सम्बन्धमा म स्पष्ट पार्न चाहन्छु । कोशी कटान स्थित ट्राफिक चेक पोष्टबाट चेक जाँच गर्ने क्रममा स्थानीय जनतालाई बारम्बार सास्ती दिइरहेको भन्ने जनगुनासो पटक-पटक आएको हो’, विज्ञप्तिमा भनेका छन्, ‘शुक्रबारका दिन पनि चेकजाँचका क्रममा स्थानीय र ट्राफिक प्रहरीबिच विवाद भइरहेको भनी जनगुनासो आएपछि गाउँपालिकाको अध्यक्ष तथा जनप्रतिनिधिको हैसियतले त्यहाँ गएको हुँ ।’

जनताको गुनासो सम्बन्धमा यथार्थ कुरा बुझ्न खोज्दा ट्राफिक प्रहरी चेक पोष्टमा कार्यरत दुई जना ट्राफिक प्रहरीले स्थानीय जनताहरूलाई दुर्ब्यबहार गर्नका साथै सास्ती दिने गरेको विषयमा माहोल शान्त पार्ने क्रममा चर्काचर्की भएको उनले उल्लेख गरेका छन् ।

‘चर्काचर्की प्रहरी सङ्गठन प्रतिको कुनै गलत नियत नभई गलत गर्ने व्यक्‍तिप्रति लक्षित थियो’, उनले भनेका छन्, ‘समग्र प्रहरी सङ्गठनप्रति मेरो उच्च सम्मान छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!