विराटनगर । अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल छ । सुनसरीको कोसी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई अपशब्द प्रयोग गर्दै धम्की दिएको भिडियो भाइरल भएको हो ।
शुक्रबार दिउँसो भएको उक्त घटनामा अध्यक्ष अन्सारीले ट्राफिक प्रहरीमाथि अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका छन् । उनले बोलेका शब्द र व्यवहारप्रति अहिले चौतर्फी आलोचना भइरहेको छ ।
शुक्रबार दिउँसो कोसी गाउँपालिका-२ कोसी कटान क्षेत्रमा ट्राफिक प्रहरीको टोली चेकजाँचमा खटिएको थियो । सोही क्रममा ओभरलोड बाँस बोकेको ट्याक्टर चेकजाँच गर्दा कागजपत्र नभेटिएपछि लफडा भएको हो । ट्राफिकले जरिवाना गर्ने भएपछि अध्यक्ष अन्सारीलाई खबर पुगेको थियो ।
त्यसपछि जुर्मुराउँदै पुगेका अन्सारीले अपाच्य शब्द प्रयोग गर्दै ट्राफिक प्रहरीमाथि विभिन्न आरोप लगाएका थिए । भिडियोमा अन्सारीले पालीकावासीलाई ट्राफिकले अनावश्यक दुःख दिएको, घुस लिने गरेको आरोप लगाएका छन् । उनले ट्राफिक प्रहरीले दुःख दिएका कारण कृषकहरू समस्यामा परेकोलगायतका आरोप लगाएका छन् ।
अध्यक्षको आरोपपछि उक्त स्थानमा खटिएको प्रहरी नायब निरीक्षक कमलप्रसाद दाहाल नेतृत्वको ९ जनाको युनिटलाई राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले केही समयमा नै फिर्ता बोलाएर नयाँ टोली पठाएको छ ।
ट्राफिक प्रहरीका विषयमा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाको संयोजकत्वमा चार सदस्यीय टोली गठन गरिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार ट्राफिक प्रहरीका विषयमा प्रश्न उठेपछि अनुसन्धान गर्न युनिट फेरिएको हो ।
प्रहरीका अनुसार पालिका अध्यक्षमाथि पनि अनुसन्धान भइरहेको छ । कोशी प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीले अध्यक्षमाथि छानबिन गर्न सुनसरी प्रहरीलाई निर्देशन दिएका छन् ।
गाउँपालिका अध्यक्ष अन्सारीले यो विषयमा केही बोल्न नचाहने धारणा राखे । ‘छाडिदिनु अहिले त्यो कुरा, कुनै कमेन्ट गर्नु छैन’, उनले संगालोखबरसँग भने, ‘मैले विज्ञप्ति नै निकालिसकेको छु । अहिले कुरा नगरौँ ।’