विराटनगर । कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद् बीमा र बस्ती स्थानान्तरण गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश विपद् परिषद्को बैठकले कोशी प्रदेशमा क्षति न्यूनीकरणका लागि बस्ती स्थानान्तरण र विपद् बीमा गर्ने निर्णय गरेको हो ।
यो निर्णयले प्रदेशमा विपद् व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । विगतको तुलनामा यस वर्ष मनसुन छिट्टै सुरु भएको र ढिलो समयसम्म रहने भएकाले आवश्यक तयारी गर्ने सम्बन्धमा बैठक बसेको थियो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद्को क्षति कम गर्न विभिन्न सात वटा महत्वपूर्ण निर्णय गरेको छ ।
बैठकले चालु आर्थिक वर्षमा राहत सामग्री र रकम गरेर वितरण गरिएको ७५ लाख ८० हजार बराबरको खर्च समेत अनुमोदन गरेको छ । बैठकले प्रदेश विपद् व्यवस्थापन रणनीतिक कार्य योजना २०८२-८७ र मनसुन पूर्व तयारी प्रतिकार्य प्रदेश कार्ययोजना २०८२ लाई पारित गरेको छ । बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले विपद् बीमा र स्थानान्तरणको विषयलाई प्राथमिकताका साथ काम गर्न निर्देशन दिए ।
मुख्यमन्त्री कार्कीले विभिन्न सङ्घसंस्थाको सहकार्यमा जोखिममा परेका घरहरू निर्माण गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई निर्देशन दिए । बजेट र कार्यक्षमता हेरेर विपद्को काममा तत्कालै जुट्न उनले आग्रह गरे ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार गत वर्ष आगलागी, बाढीपहिरो, चट्याङ र विस्फोटमा परी मृत्यु भएका ३४ जनालाई राहत रकम वितरण गरिएको छ ।
त्यस्तै निजी आवास बनाउन ८६ लाख ४० हजार सहयोग गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमल थापाले जानकारी दिए । कोशी प्रदेशमा तत्कालै स्थानान्तरण गर्नुपर्ने करिब चार हजार एक सय ५१ परिवारहरू छन् ।