धनकुटा । धनकुटाबाट गाँजा नियन्त्रणमा लिने क्रममा ड्युटीमा रहेका प्रहरीलाई धकेलेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका-२ बूढीमोरङका २५ वर्षीय सागर लिम्बु छन् ।
गत जेठ १० गते साँगुरीगढी गाउँपालिका-२ सेलेङस्थित मोरङको सिमानामा गाँजा नियन्त्रणमा लिने क्रममा प्र १-०२-००२ च ५२३८ नम्बरको महिन्द्रा पिकअपका चालक लिम्बु प्रहरी जवान संजयकुमार थारूलाई धकेलेर जङ्गलतर्फ भागेका थिए ।
उनले धकेल्दा लडेर प्रहरी जवान थारू घाइते भएका थिए । निरन्तरको खोजीपछि आइतबार साँझ ५ः३० बजे को २० प १८९८ नम्बरको मोटरसाइकलमा सवार उनलाई छथर जोरपाटी गाँउपालिका-१ चिसापानीबाट नियन्त्रणमा लिइएको धनकुटा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आठ सय ९० किलो गाँजा धनकुटाको बूढीमोरङबाट मोरङ केराबारीतर्फ तस्करी भइरहेको अवस्थामा नियन्त्रणमा लिन खोज्दा उनी भागेका थिए ।
उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐन २०३३ तथा मुलुकी संहिताको दफा ६६ अन्तर्गत राष्ट्रसेवकलाई बाधाविरोध गर्न नहुने सम्बन्धी कसूरमा कारबाही प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।