विराटनगर । साल्ट ट्रेनिङ कर्पोरेसन लिमिटेड विराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरी भ्रष्टाचार मुद्दामा कैद तथा जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका-७ का ३५ वर्षीय खगेन्द्र बस्नेत छन् ।
इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको कमान्डमा खटिएको प्रहरी टोलीले उनलाई आज बिहान पक्राउ गरेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार आज नै अदालतमा उपस्थित गराइएको छ ।
२०७९ भदौ २८ गते विशेष अदालतले गरेको फैसला अनुसार भ्रष्टाचार मुद्दामा उनलाई दई वर्ष ६ महिना कैद र नौ लाख २८ हजार ६ सय ७५ रुपैयाँ जरिवाना तोकेको थियो । तर उनी सजाय भुक्तान नगरी फरार भएका थिए ।
आज विशेष सूचनाका आधारमा उनकै घर आसपासबाट पक्राउ गर्न सफल भइएको डीएसपी खतिवडाले जानकारी दिए । उनलाई सजाय भुक्तानका लागि आजै कारागार चलान गरिएको छ ।