
विराटनगर । विराटनगरमा देशैभरका स्थानीय तहका उप-प्रमुखहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा जेठ २३ र २४ गते हुने सम्मेलनको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने तय भएको छ ।
सम्मेलनमा ६ वटा महानगरका उप-प्रमुख, ११ उपमहानगरका उप-प्रमुख, कोशी प्रदेशका एक सय ३६, मधेश प्रदेशका ७३, बागमती प्रदेशका ४१ र बाँकी ५ वटा प्रदेशका केही पालिकाका गरी कूल दुई सय ९१ जना उप-प्रमुख तथा उपाध्यक्षहरू सम्मेलनमा सहभागि हुने महानगरले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
वीरेन्द्र सभागृहमा हुने सम्मेलनमा न्याय प्रणालीमा विवाद निरुपण गर्न न्यायिक समितिका संयोजक एवं पदाधिकारीहरूमा चाहिने ज्ञान, सीप तथा कार्य दक्षता सम्बन्धी काशीराज दाहाल, वित्तीय संघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका तथा प्रयास सम्बन्धी डा. गोपी खनाल र स्थानीय सरकार सञ्चालन र विकास प्रक्रियामा उप-प्रमुख तथा उपाध्यक्षहरूको भूमिका सम्बन्धी रमेश अधिकारीले कार्यपत्र प्रस्तुत गर्ने विराटनगरकी उप-प्रमुख शिल्पा निराला कार्कीले बताइन् ।
सहभागी उप-प्रमुख तथा उपाध्यक्षहरूले समूह छलफल गरेर पालिका सञ्चालनमा देखिएका समस्या तथा समाधानका उपायहरूको बारेमा प्रस्तुती दिने र सम्मेलनको अन्तिम दिन घोषणा पत्र जारी हुने महानगर प्रमुख नागेश कोइरालाले बताए । सम्मेलन सम्पन्न गर्न करवि ४२ लाख खर्च हुने अनुमान गरिएको महानगरले जनाएको छ ।

संगालोखबर 













