
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१ भगुवा खोलास्थित तमोर करिडोरमा ट्याङ्कर पल्टिँदा च्यापिएका चालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । फलामेटारबाट मुलघाटतर्फ आउदै गरेको रौता कन्ट्रक्सनको प्रदेश नम्बर १-०५-००१ क ००३१ नम्बरको पानी बोक्ने खाली टयाङ्कर गएराती करिब १० बजे पल्टिएको हो ।
ट्याङ्कर पल्टिँदा चालक उदयपुरको कटारी नगरपालिका-७ घर भएका ४४ वर्षीय सुन्दरबहादुर बिक ट्याङ्करभित्र च्यापिएका थिए । घटनाको जानकारी पाएपछि धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले मध्यराति विकको सकुशल उद्धार गरेको हो । ‘गाडी पल्टिँदा ड्राइभर गाडीभित्र च्यापिएर अड्किएको रहेछन्,’ एसपी क्षेत्रीले संगालोखबरसँग भने, ‘राती नै जेसीभी लगेर ट्याङ्कर उचाली उनलाई त्यहाँबाट निकालेर उपचारका लागि घोपा पठाएका छौँ ।’
गाडीमा च्यापिँदा चालक विकको खुट्टामा गम्भीर चोट लागेको छ । उद्धारमा ढिलाई भएको भए धेरै रगत बगेर उनको ज्यानै जान सक्ने खतरा थियो । समयमै उद्धार हुँदा उनको ज्यान जोगिएको छ । अहिले, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा उनको उपचार भइरहेको छ ।
भिडियो…

संगालोखबर 













