धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीमा बाढीले सडक बगाउँदा अवरुद्ध भएको कोशी राजमार्गको धरान-धनकुटा सडक खण्डमा सवारी साधन सञ्चालन हुन थालेका छन् ।
सडक बगाएको क्षेत्रमा तत्कालका लागि वैकल्पिक सडक निर्माण गरेर यातायात सुचारु गरिएको हो ।
अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले आज बिहान करिब ५ः३० बजे झण्डै १०० मिटर सडक बगाउँदा यातायात ठप्प भएको थियो ।
दिनभरको प्रयासपछि वैकल्पिक सडक निर्माण गरेर साँझ करिब ६ बजेबाट यातायात सुचारु गरिएको धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।
दिनभर सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र हजारौं यात्रुहरू अलपत्र परेका थिए । दिउँसोबाट पैदलमार्ग निर्माण गरेर यात्रुहरूलाई आवतजावत गर्ने व्यवस्था भने मिलाइएको थियो ।
तर, सवारी साधन भने आवतजावत हुन सकेका थिएनन् । दिनभर रोकिएका सवारी साधन सडक सञ्चालनमा आएपछि गन्तव्यतर्फ जान थालेका छन् ।