धनकुटा । लेउती खोलामा आएको बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थित फेदीमा सडक बगाउँदा कोशी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान करिब ५ः३० बजे बाढीले सडक बगाउँदा कोशी राजमार्गको धरान-धनकुटा सडक खण्ड अवरुद्ध भएको हो ।
बाढीले करिब १०० मिटर पक्की सडक कटान गरेर बगाएको धनकुटाका प्रहरी निरीक्षक ध्रुवनारायण श्रेष्ठले जानकारी दिए । ‘बाढीले सडकमा ठूलो क्षति पुयाएको छ । अहिले तत्काल सडक सञ्चालन हुने सम्भावना छैन,’ प्रहरी निरीक्षक श्रेष्ठले संगालोखबरसँग भने, ‘सडकको भित्तापट्टि भीर भएकाले वैकल्पिक सडक खुलाउन पनि समस्या छ ।’
खोलाको बाढी घटेमा बगर क्षेत्रबाट वैकल्पिक मार्ग निर्माण गरी सडक खुलाउने योजना बनाइएको छ । अहिले तत्कालका लागि यात्रुहरू ‘मेल’ गर्ने तयारी भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
गाडीले धनकुटा र धरान दुवै तर्फबाट सडक बगाएको क्षेत्रसम्म यात्रु लैजाने र त्यहाँ पैदल बाटो बनाएर यात्रु वारपार गराई आवतजावतको व्यवस्था मिलाउने तयारी भइरहेको छ ।