धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मंगलबार लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले धनकुटा नगरपालिका-७ त्रिवेणीचोकका २५ वर्षीय अभिषेक लिम्बुको घरमा खानतलासी गरेको थियो ।
सोही क्रममा लिम्बु र उनकै घरमा आएका जिरोपोईन्टका १९ वर्षीय सागर सहनीको साथबाट लागूऔषध ब्राउन सुगरजस्तो जस्तो देखिने लिसाइलो वस्तु पोका बनाएको अवस्थामा २२ थान प्रहरीले बरामद गरेको थियो ।
उक्त बस्तु २ ग्राम १२० मिलिग्राम ब्राउन सुगर रहेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनीहरूको कोठाबाट प्रतिबन्धित औषधी १० ट्याब्लेट समेत बरामद भएको उनले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धानका क्रममा धनकुटा-१ का २२ वर्षीय राम राई र २४ वर्षीय दावा छिरिङ तामाङ समेत लागूऔषध बेचबिखनमा संलग्न रहेको पाइएको छ ।
उनीहरूलाई धनकुटा नगरपालिका-१ हिलेबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनामाथि आवश्यक अनुसन्धान भइरहेको डीएसपी खनालले जानकारी दिए ।