
विराटनगर । मोरङको कानेपोखरी जंगलमा एक पुरुष मृत फेला परेका छन् । कानेपोखरी गाउँपालिका-५ का ५२ वर्षीय जितलाल राजवंशी मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी दुई दिनदेखि हराइरहेका थिए । निगुरो टिप्न भनेर घरबाट निस्किएका उनी घर नफर्किएपछि खोजी सुरु गरिएको थियो । खोजी गर्ने क्रममा आज बिहान ११ बजे घरबाट करिब ५ किलोमिटर उत्तर जंगलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पुरा गरि शवलाई पोष्टमार्टमका लागि पठाएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।