
विराटनगर । मोरङको कानेपोखरीमा कोशी प्रदेश सांसद सवार गाडीलाई प्रहरी नायब उपरीक्षक डीएसपी चढेको गाडीले ठक्कर दिएको छ । आज दिउँसो २ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ च ३५२० नम्बरको गाडीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिएइ १४०६ नम्बरको गाडीलाई ठक्कर दिएको हो ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहन बिक्रम दाहालका अनुसार बिएइ १४०६ नम्बरको गाडीमा प्रदेश सभा सदस्यहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ सवार थिए । सांसद सवार गाडी झापाको दमक नगरपालिका १ का ४० वर्षीया भेषराज श्रेष्ठले चलाएका थिए ।
अर्को गाडी जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले चलाएको खुलेको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको दाहालले जानकारी दिए ।
‘दुबै गाडीमा क्षति पुगेको छ’, दाहालले संगालोखबरसँग भने, ‘सांसदहरू विराटनगरतर्फ जाँदै हुनुहुन्थ्यो । गाडीमा क्षति पुगेपनि कुनैपनि मानवीय क्षति भएको छैन ।’

संगालोखबर 













