विराटनगर । इटहरी उपमहानगरपालिकाकी शाखा अधिकृत सस्मिता लुइँटेल दुई महिनादेखि बेपत्ता छिन् । आर्थिक लेनदेनको विषयमा प्रहरीमा उजुरी परेपछि बेपत्ता भएकी लुइँटेल महानगरपालिकामा हाजिर समेत भएकी छैनन् ।
उनले झापा र इटहरीमा विभिन्न व्यक्ति तथा कर्मचारीसँग विभिन्न समस्या देखाएर सापटी भन्दै लाखौँ रकम लिएको खुलेको छ । उनका विरुद्धमा इलाका प्रहरी कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय झापामा उजुरी परेको छ ।
झापाको अर्जुनधारा नगरपालिकामा कार्यरत लुइँटेल २०८१ भदौ ६ गते इटहरी उपमहानगरपालिकामा सरुवा भएकी थिइन् । इटहरी-२० मा वडा सचिवको रूपमा कार्यरत उनलाई रकम ठगेको गुनासो आएपछि उपमहानगरपालिका तानिएको थियो ।
तर, उपमहानगरपालिका तानिएपछि उनी हाजिर हुनै नआएको कर्मचारी प्रशासन प्रमुख दीपक पौडेलले बताए । ‘हामीले सम्पर्क गर्दा सँधै आइतबार आउँछु मात्रै भन्नुहुन्थ्यो’, पौडेलले संगालोखबरसँग भने, ‘तर उहाँ हाजिर हुन समेत नआई सम्पर्कविहीन हुनुभयो । अन्य व्यक्तिसँगै कर्मचारीबाट पनि रकम लिएको भन्ने कुरा छ ।’
आज उनले कार्यालयको मेलमा बिदाको निवेदन पठाएको भएपनि स्वीकृति हुन बाँकी रहेको पौडेलले बताए । ‘अनलाइनमा त देखाइरहेको हुन्छ । मैले पनि सम्पर्क गर्न खोजेको मोबाइल अफ रहेछ’, उनले थपे, ‘झापाको अर्जुनधाराबाट सरुवा भएर यहाँ आउनुभएको हो । वडा नम्बर २० मा कार्यरत रहँदा आर्थिक कारोबार नगरून् भनेर हामीले उपमहानगरपालिका तान्यौँ । त्यहाँबाट हाजिर हुन आउनुभएको छैन ।’
सेवाग्राहीसँग घुस लिएको नभेटिएको तर सापटी वापत रकम लिएको गुनासो आएको उनले बताए । ‘कारोबारको विषय के हो हामी जान्दैनौँ । मान्छेहरू आफैँ खोज्दै आउँथे । सेवा लिए वापत हो भन्दा हैन भन्या छन्’, उनले थपे, ‘यो ठगी प्रकृतिको मुद्दा भयो । यो हामीले हेर्ने खालको मुद्दा भएन ।’
इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर भट्टराईले बिदाको निवेदन पठाए पनि तोक नलगाएको बताए । ‘म आएको पनि पाँच दिन भयो’, उनले संगालोखबरसँग भने, ‘पैसा खाएर हिँडेको भन्ने छ । कार्यालयमा पनि दुई महिनादेखि उपस्थित हुनुहुन्न ।’
उनले ९० दिन नभइ उनलाई आफूहरूले कारबाही गर्न नमिल्ने बताए । ‘बिरामी भएको तथा घर बिदा नै लिन चाहनुभयो भने हामीले त्यो मौका पनि दिनुपर्ने हुन्छ’, उनले थपे, ‘बाह्य लिएको ऋणको विषयमा त कानुनी कारबाही भइहाल्छ ।’
इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले उनीविरुद्ध २ वटा उजुरी परेको बताए । सो मध्ये एउटा इलाका प्रहरी कार्यालय बेलबारीको कार्यक्षेत्रमा पर्ने भएकाले उतै पठाइएको उनले बताए ।
‘बेलबारी पठाएको उतैबाट अनुसन्धान हुन्छ’, डीएसपी भण्डारीले संगालोखबरसँग भने, ‘हाम्रो कार्यक्षेत्रभित्र पर्ने उजुरीको बैंकसँग डिटेल माग्ने काम भइरहेको छ । बैंकको डिटेल आएपछि अरु प्रक्रियामा जान्छौं ।’
झापा अर्जुनधारा नगरपालिका-८ की तुलासा प्रधानले सस्मिताले आफूसँग २० लाख रुपैयाँ लगेर नदिएको र सोही ठाउँकी कुमारी भण्डारीको पनि ९ लाख रुपैयाँ लगेको उजुरी दिएका छन् ।
इटहरी लबीपुरका व्यवसायी विपिन भट्टराईले सँगै पढेकी सस्मितालाई २४ लाख रुपैयाँ दिए पनि फिर्ता नपाएको बताएका छन् । स्वास्थ्य चौकी खनारमा कार्यरत कर्मचारी विकास पौडेलसँग सस्मिताले ४ लाख ५० हजार लिएको प्रमाण नै सार्वजनिक भएको छ । उनले अन्य व्यक्तिबाट पनि घरायसी समस्या देखाउँदै रकम ठगी गरेको घटना बाहिरिरहेका छन् ।