विराटनगर । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापकको रूपमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. निता यादवले परिवारबाटै पीडित भएको बताएकी छन् ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले ससुरा र देवरको अवरोधका कारण अदालतबाट प्राप्त अधिकार आफूले उपभोग गर्न नपाएको दुखेसो गरेकी हुन् ।
श्रीमान् डा.सुशील यादवको २०८१ साल जेठ ३१ गते मृत्यु भयो । त्यसपछि उनले आफ्नो हकको माग गर्दै २०७९ भदौ २ गते सुनसरी जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।
जिल्ला अदालतले २०८० फागुन १७ गते उनको पक्षमा फैसला गर्दै श्रीमानको नाममा रहेको सम्पत्तिको आधा हक दिने आदेश गरेको थियो । त्यसपछि उच्च अदालत विराटनगरले २०८१ साल चैत १६ गते जिल्ला अदालतको फैसलालाई सदर गर्दै यादवलाई कानुनी रूपमा उक्त जग्गाको अधिकार सुनिश्चित गरिदिएको छ ।
तर अदालतबाट आएको फैसला कार्यान्वयन नभएको उनको गुनासो छ । बुढीगंगा गाउँपालिकाले पनि आफूलाई जग्गामा कुनै काम गर्न नदिएको उनले सुनाइन् । ‘मैले आफ्नै जग्गा पनि उपभोग गर्न पाएकी छैन’, उनले भनिन्, ‘अदालतले मेरै पक्षमा फैसला गरेपनि अन्य कतैबाट सहयोग पाएको छैन । मैले जसरी पनि न्याय पाउनुपर्यो ।’
२०६८ सालमा डा.सुशील यादवसँग उनको विवाह भएको थियो । विवाहको केही समयमै श्रीमान् सिजोफ्रेनिया नामक गम्भीर मानसिक रोगबाट पीडित रहेको थाहा पाएको उनले सुनाइन् ।
ससुरा डा.शीतल यादव विराटनगरका चर्चित चिकित्सक हुन् । उनले २०५८ सालमै छोरालाई करिब चार बिघा जग्गा बाँडफाँड गरिदिएका थिए । डा. निताका अनुसार जग्गा मोरङको बुढीगंगा गाउँपालिका-१ र ३ मा छ । उनले जसरी पनि आफूले न्याय पाउनुपर्ने बताइन् ।