
विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसको मूल भवनमा रहेको ६३ नम्बर कक्षाको सिलिङबाट ढलान खस्दा एक कर्मचारी घाइते भएका छन् ।
बुधबार परीक्षा चलिरहेको समयमा ढलान खस्दा परीक्षा निरीक्षणमा बसेका पूर्व कर्मचारी आनन्द चौधरी घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको र स्थानीय क्लिनिकमा उपचार पश्चात् डिस्चार्ज भइसकेको छ ।
सो घटनापछि उक्त कोठामा ताला लगाइएको छ । महेन्द्र मोरङ क्याम्पसको पुरानो भवनका अन्य कक्षाकोठाको सिलिङबाट पनि ढलान झर्न थालिसकेको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको भवन थप जीर्ण र जोखिमयुक्त बन्दै गएको छ ।

वि.स.२०१५ सालमा विज्ञान विषयको अध्ययनका लागि क्याम्पसको मूल भवन निर्माण गरिएको थियो । सोही भवनमा अहिलेपनि पठन-पाठन हुँदै आएको छ ।
घटना पश्चात स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र मोरङ क्याम्पसले विज्ञप्ति जारी गर्दै जोखिमयुक्त कक्षाकोठा २४ घण्टाभित्र मर्मत गर्न निर्देशन दिएको छ । २४ घण्टाभित्र मर्मत सुरु नभए कडा कदम चाल्ने अध्यक्ष रोहित यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।