विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक करिडोरमा नियमित विद्युत आपूर्ति गर्न माग गरेको छ । नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदै संगठनले विद्युत कटौतीले उद्योग सञ्चालनमा कठिनाइ भएको जनाएको छ ।
सुनसरी-मोरङ, विराटनगर-रानी, विराटनगर-कटहरी औद्योगिक करिडोरमा हाल दैनिक ८ देखि १० घण्टासम्म विद्युत आपूर्ति अवरोध भइरहेको संगठनको भनाइ छ । सूचना बिना विद्युत कटौती हुनेगरेको बताउँदै संगठनले दैनिक करोडौँ नोक्सानी भइरहेको भन्दै संवेदनशील हुन प्राधिकरणलाई आग्रह गरेको छ ।
‘हरेक वर्ष सुक्खायाममा विद्युत आपूर्ति कमी भई उद्योग व्यवसायमा अवरोध हुँदै आएको तथ्य र तथ्यांकसहित संगठनले बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ’, संगठनका अध्यक्ष राकेश सुरानाले भने, ‘दीर्घकालीन समाधानका लागि नियामक निकायबाट कुनै ठोस योजना नआएकोमा दुख व्यक्त गर्दै उद्योग व्यवसायको समस्यालाई गम्भीरतापूर्वक नलिने प्रवृत्तिले प्राधिकरण निजी क्षेत्रको प्रताडनाबाट संवेदनशिल नभएको अनुभूति भएको छ ।’
सुक्खायाममा विद्युत महशुल पनि बढी लिने र निरन्तर विद्युत आपूर्ति समेत नहुँदा उद्योग व्यवसायी दोहोरो मारमा परेका सुरानाको भनाइ छ । संगठनले यसको दीर्घकालीन समाधान खोज्न प्राधिकरणसँग माग गरेको छ ।