
विराटनगर । विराटनगर भन्सार क्षेत्रमा निर्माण गरिएको आपत्कालीन गोदाम घर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आज संघीय सरकारका गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गोदाम घर हस्तान्तरण गरेका हुन् ।
गृहमन्त्री लेखकले संघीय सरकारले संघीयता कार्यान्वयनमा स्पष्ट प्रतिबद्धता जनाएको उल्लेख गर्दै विपद् व्यवस्थापनमा संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे ।
उनले चाँडै शिक्षा विधेयक, निजामती विधेयक, नेपाल प्रहरीसम्बन्धी विधेयकहरू पारित गरिने जानकारी दिँदै यी विधेयकहरूले संघीयताको संस्थागत रूपले कार्यान्वयनमा सघाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले प्रदेश सरकार गठन भएपछि मात्रै अधिकार हस्तान्तरणको प्रक्रियाले गति लिएको उल्लेख गर्दै संघीय सरकारबाट भएका प्रयासहरू सकारात्मक रहेको उल्लेख गरे । उनले एकैपटक सबै अधिकार हस्तान्तरण सम्भव नरहेको बताउँदै कर्मचारी तहमा रहेको साँघुरो सोच र ज्ञानको अभावले समस्या भएको बताए ।
प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले विपद् व्यवस्थापनमा प्रदेश सरकारका प्रयासहरू उल्लेख गर्दै संघीय सरकारलाई तुरुन्त आवश्यक अधिकार हस्तान्तरण गर्न आग्रह गरे ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर दिनेश भट्टका अनुसार गोदामघरमा त्रिपाल, सेल्टर किट, स्लिपिङ ब्याग, ब्लाङकेट लगायत ११ प्रकारका राहत सामग्री भण्डारण गरिएको छ ।
अबदेखि विराटनगर भन्सार क्षेत्रको उक्त गोदाम पूर्णरूपमा प्रदेश सरकारको मातहत रहने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत भट्टले बताए ।

संगालोखबर 













