
विराटनगर । कोशी प्रदेशस्तरीय सुरक्षा बैठक भोलिदेखि विराटनगरमा सुरु हुँदैछ । होटल एसियाटिकमा हुने बैठकमा १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सहभागी जिल्लाबाट वर्तमान सुरक्षा अवस्था, चुनौती र स्थानीय तहमा देखापरेका समस्याबारे प्रस्तुति हुनेछ । उनीहरूको प्रस्तुतीपछि गृहमन्त्री रमेश लेखकले विशेष सम्बोधन गर्नेछन् ।
सुरक्षा बैठकमा गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी), सशस्त्र प्रहरी बलका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक र प्रदेश तथा जिल्ला तहका सुरक्षा अधिकारीहरूको उपस्थिति रहने जनाइएको छ ।
पछिल्लो राजनीतिक अवस्था, आगामी निर्वाचन, सीमावर्ती क्षेत्रमा बढ्दो आपराधिक गतिविधि र सामाजिक अपराधहरूबारे पनि बैठकमा विस्तृत छलफल हुने जनाइएको छ ।

संगालोखबर 













