धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेमा इभी गाडी र बस ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।
आज बिहान ११ः१७ बजेको समयमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४२७६ नम्बरको इभी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख ०३७३ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
बस चालक सुनसरीको इटहरी उपमहानगरपालिका-१७ का ४९ वर्षीय कुलबहादुर मगरलाई प्रहरी चौकी मुलघाटले नियन्त्रणमा लिएको छ । बसका यात्रु सबै सकुशल रहेका डीएसपी खनालले बताए ।
घाइतेहरूको नामावली-
१. सुनसरीको रामधुनी-३ का ५८ वर्षीया जानुका देवी खतिवडा–मुखमा र दाहिने खुट्टामा चोट, अवस्था मध्यम ।
२. भोजपुरको भोजपुर नगरपालिका-१० का २१ वर्षीय अमिर राई–अनुहारमा चोट, अवस्था सामान्य ।
३.सोही स्थानका ६१ वर्षीय हर्कबहादुर राई–अनुहारमा गहिरो चोट, अवस्था मध्यम रहेको ।
४.सोही स्थानकी २० वर्षीया सोफिया राई–शरीरका विभिन्न भागमा सामान्य चोट ।
५. इभी चालक भोजपुर नगरपालिका-८ का ४० वर्षीय विपिन नेपाल–अनुहारमा चोट, अवस्था मध्यम ।