
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-१ मा ट्रान्सफर्मर चोरी भएको छ । किसानहरूले सिँचाइका लागि समूहमार्फत जडान गरेको ट्रान्सफर्मर गएराति चोरी भएको हो ।
देवानगन्ज-२ का वडाध्यक्ष जगनारायण मेहताका अनुसार डिप बोरिङमार्फत सिँचाइ गर्न ट्रान्सफर्मर राखिएको थियो । तर चोरले ट्रान्सफर्मर नै चोरी गरेपछि किसानहरूलाई समस्या भएको उनले सुनाए ।
‘मेरै जग्गामा राखिएको थियो’, उनले संगालोखबरसँग भने, ‘राति चोरी भएछ । करिब ४० बिघा क्षेत्रफलमा यसैबाट सिँचाइ हुँदै आएको थियो । चोरी भएसँगै किसानलाई समस्या भएको छ ।’
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय कोशी प्रदेशमार्फत किसानहरूको समूहले राखेको ट्रान्सफर्मर चोरी भएको वडाध्यक्ष मेहताले बताए । उनले ट्रान्सफर्मर भित्रबाट मुख्य बस्तु निकालेर चोरहरूले लगेको जानकारी दिए ।
इलाका प्रहरी कार्यालय देवानगन्जका प्रहरी निरीक्षक कमल विष्टले चोरीमा संलग्नहरूको खोजी भइरहेको जानकारी दिए । ‘किसानहरूले डिप बोरिङमार्फत खेतबारीमा सिँचाइ गर्नका लागि ट्रान्सफर्मर जडान गर्नुभएको रहेछ’, उनले संगालोखबरसँग भने, ‘रातको समयमा चोरी भएको छ । अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन ।’
उनले ट्रान्सफर्मरको मुख्य सामग्री चोरले कवाडीमा बिक्री गर्न सक्ने हुँदा जिल्लाको सबै मातहतबाट प्रहरीले विशेष निगरानी गरिरहेको जानकारी दिए । यसअघि मोरङको सुन्दरहरैँचा नगरपालिका-२ जोगियारेबाट पनि ट्रान्सफर्मर चोरी भएको थियो ।