संगालोखबर


विराटनगर । वैदेशिक रोजगारीका लागि बहराइन गएका एक श्रमिकको मृत्युपछिको बिमा रकम ठगी गरेको आरोपमा एक बीमा कम्पनीका म्यानेजर पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी विराटनगर शाखाका म्यानेजर  सन्तोष अधिकारी पक्राउ परेका हुन् ।

Advertisement

उनी मोरङको विराटनगर-३ निवासी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार अधिकारीमाथि मृतक श्रमिककी पत्नीले पाउनुपर्ने बिमा रकम ठगी गरेको गम्भीर आरोप छ ।

जोशीका अनुसार मोरङको केराबारी गाउँपालिका-९ निवासी नइन्द्र विश्वकर्मा २०८० सालमा रोजगारीका लागि बहराइन गएका थिए । तर २०८१ मा गम्भीर मृगौला रोग देखिएपछि उनी स्वदेश फर्किएका थिए र उपचारकै क्रममा मृत्यु भएको थियो ।

उनकी पत्नी भीमकुमारी विश्वकर्माले पाउनुपर्ने १३ लाख रुपैयाँ बराबरको वैदेशिक रोजगार म्यादी बिमा रकम लिन इन्सुरेन्स कम्पनीमा सम्पर्क गर्दा ठगीको जालो सुरु भएको प्रहरीले जनाएको छ ।

बिमा प्रक्रिया र कानुनी जानकारीको अभावको फाइदा उठाउँदै अधिकारीले विभिन्न कागजातमा सहीछाप गराएर ग्लोबल आइएमई बैंकमा एकल तथा संयुक्त खाता खोलेका थिए । त्यसमा चेकबुकमा समेत हस्ताक्षर गराई रकम नियन्त्रणमा लिएको खुलेको छ ।

पीडित पक्षलाई १३ लाखमध्ये केवल ५ लाख ७६ हजार रुपैयाँ मात्र प्राप्त हुने जानकारी पाएपछि शङ्का उत्पन्न भएको थियो । त्यसपछि भीमकुमारीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएकी थिइन् ।

अनुसन्धानका क्रममा अधिकारीले भीमकुमारीकै नाममा १५ वर्षे अवधिको वार्षिक ७० हजार रुपैयाँको जीवन बिमा समेत गराएको खुल्न आएको छ । यसले मृतक परिवारमाथि आर्थिक भार सिर्जना गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी मृतकका भदै नाता पर्ने प्रतीक विश्वकर्मा र जेठी पत्नी मिरा विश्वकर्माको नाममा क्रमशः ५१ हजार र ७० हजार रुपैयाँको बिमा गराई रकम अन्यायपूर्वक प्रयोग गरिएको देखिएको प्रहरीले जनाएको छ ।

भीमकुमारीको नाममा ६ लाख ४४ हजार एक सय ७८ रुपैयाँ ‘फिक्स्ड डिपोजिट’ राखिएको समेत प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । पक्राउ परेका अधिकारीविरुद्ध आपराधिक विश्वासघात र ठगी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!