संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । सहकारी ठगी कसुर मुद्दाका फरार प्रतिवादी प्रभात खड्का पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले खड्कालाई मंगलबार दिउँसो ३ः३० बजे इटहरी उपमहानगरपालिका-१७ भाटभटेनी नजिकबाट पक्राउ गरेको हो ।

ग्रेस अनुग्रह सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता नगरेर ठगी गरेको भन्दै उनीमाथि उजुरी परेको थियो । २०८१ कात्तिक २६ गते जिल्ला अदालत उदयपुरबाट पक्राउ पुर्जी पनि जारी भएको थियो । तर उनी लुकिछिपी बस्दै आएका थिए । प्रहरीका अनुसार विराटनगर-३ स्थायी ठेगाना भएका खड्का उदयपुरको चौदण्डीगढी नगरपालिका-४ मा पनि बस्दै आएका थिए ।

Advertisement

पक्राउ परेका खड्कालाई इलाका प्रहरी कार्यालय बेल्टारमा बुझाइएको सुनसरी प्रहरी प्रमुख एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी निरीक्षक बबिन राईले पक्राउ परेका खड्कालाई म्याद थपका लागि जिल्ला अदालतमा लगिएको जानकारी दिए । ‘धेरै बचतकर्ताहरूले ठगी गरेको भनेर उजुरी दिनुभएको थियो’, प्रहरी निरीक्षक राईले संगालोखबरसँग भने, ‘उहाँ लामो समयदेखि फरार हुनुहुन्थ्यो । खोजी गर्ने क्रममा हिजो पक्राउ गर्न सफल भइयो ।’

प्रहरी निरीक्षक राईका अनुसार करिब डेढ सय बढी बचतकर्ताले ठगीमा परेको भन्दै जाहेरी दिएका छन् । ‘कसैले १५/२० हजार, कसैले १५/१६ लाख रकम पाउन बाँकी छ भनेर उजुरी गर्नुभएको छ’, उनले भने, ‘करिब दुई करोड भन्दा बढी रकम बचतकर्ताले पाउन छ ।’

म्याद थपपछि आवश्यक अनुसन्धान अगाडि बढाइने उनले जानकारी दिए । बेलका र चौदण्डीगढी नगरपालिकामा ग्रेसले कारोबार गर्दै आएको बुझिएको छ भने बचतकर्ताले विभिन्न बहानामा दुई वर्षदेखि बचत फिर्ता पाउन सकेका छैनन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!