धनकुटा । धनकुटा नगरपालिका-६ गोठगाउँमा भएको बस दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । भोजपुर षडानन्द नगरपालिका-१३ का ५८ वर्षीय लिला बहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
यसअघि दुर्घटनामा घाइते भएका बस चालक सुनसरीको धरान-१३ का ५१ वर्षीय रुद्र तामाङ र धनकुटा नगरपालिका-६ की ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको उपचारकै क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा घाइते भएका अन्य ११ जनाको उपचार भइरहेको छ । जसमध्ये थप दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । धरानबाट भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस सोमबार बिहान करिब १०ः३० बजे दुर्घटना भएको थियो ।