संगालोखबर


धनकुटा । धनकुटाको टुँडिखेलमा आयोजना गरिएको भलिबल उत्सवमा अराजक गतिविधि गरेको आरोपमा जिल्ला भलिवल संघले टिम कोचसहित चार जना खेलाडीलाई कारवाही गरेको छ ।

जिल्ला भलिवल संघविरुद्ध नारावाजीसहित अराजक गतिविधि गरेको भन्दै महालक्ष्मी नगरपालिका–३ का प्रशिक्षकसहित चार जना खेलाडीलाई दुई वर्षका लागि खेलमा प्रतिवन्ध लगाइएको हो ।

Advertisement

कारबाही पर्नेमा टिम कोच सुजन पौडेलसहित सन्तोष निरौला, नरेशजंग थापा र सुजन तामाङ छन् । उनीहरुलाई जिल्ला, पालिका, वडा तथा विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड अन्तरगतको भलिबल खेलमा प्रतिबन्ध लगाइएको हो ।

वैशाख १८ गते महालक्ष्मी नगरपालिका-४ र महालक्ष्मी नगरपालिका-३ बीच खेल भएको थियो । जसमा उपविजेता बनेको महालक्ष्मी-३ का खेलाडीहरूले आयोजक जिल्ला भलिबल सङ्घ धनकुटामाथि अराजक गतिविधि गरेको आरोप छ ।

जिल्ला भलिबल संघका अध्यक्ष गौरव कार्कीले आज एक विज्ञप्ति जारी गर्दै खेलाडीमा हुनुपर्ने अनुशासन नभएको र खेलमैदानमा नाराबाजी गर्नुका साथै १९ गतेको खेल स्थगित भएको भन्दै उनीहरूलाई कारबाही गरिएको जनाएका छन् । उनले आज बसेको संघको बैठकले यस्तो निर्णय गरेको उल्लेख गरेका छन् ।

‘उनीहरूले महालक्ष्मीको प्रतिनिधित्व गरेर पटक-पटक वडा र जिल्लाको नेतृत्व गरेर प्रदेशमा पनि खेलिसकेका रहेछन्’, अध्यक्ष कार्कीले संगालोखबरसँग भने, ‘महालक्ष्मी-३ का खेलाडीहरूले खेल हारेपछि महालक्ष्मी-४ का दुई खेलाडीविरुद्ध जिल्ला बाहिरको खेलाडी भनेर उजुरी गरे । तर छानबिन गर्दा उनीहरू जिल्ला कै भएको पाइयो ।’

भक्तबहादुर परियार र कुबेर बुढाथोकी जिल्लाकै खेलाडी भएको यकिन भएपछि खेल खेलाउँदा महालक्ष्मी-३ का खेलाडीले खेल नै अवरोध गरेको उनको भनाइ छ । उनीहरूको कारण सो दिनको खेल समेत स्थगित गर्नुपरेको उनको भनाइ छ ।

यता महालक्ष्मी-३ का वडाध्यक्ष समेत रहेका टिम मेनेजर भरत थापाले जिल्ला भलिबल सङ्घले हतारमा यस्तो निर्णय गरेको भन्दै आपत्ति जनाए । यसले खेलाडीहरूको भविष्यमाथि नै असर पर्ने उनको भनाइ छ ।

‘महालक्ष्मी-४ ले दुई जना खेलाडी बाहिरको मिसाएर खेलाएको भन्ने कुरा भएर हाम्रो भाइहरूले उजुरी गरेका थिए’, उनले संगालोखबरसँग भने, ‘भलिबल सङ्घले एक जनासम्म खेलाउन पाउने भनेर ४ नम्बरलाई अगाडि बढाउने कुरा गर्यो । हाम्रा भाइहरू अलिअलि आक्रोशमा आए । अलिअलि आक्रोशमा आउनु स्वभाविक पनि थियो । तर कारबाही नै गर्नुपर्ने अवस्था थिएन ।’

यस विषयमा जिल्ला भलिबल सङ्घलाई आग्रह गर्दा समेत कुनै प्रतिक्रिया नआएको उनले सुनाए । यो निर्णय गर्नुअघि भलिबल सङ्घले आफूहरूसँग कुनै समन्वय नगरेको भन्दै उनले दुःख व्यक्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!