संगालोखबर
फाइल तस्बिर

विराटनगर । जिल्ला कारागार मोरङका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका-२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

मोरङ कारागारका जेलर गौरव ढुङ्गेलका अनुसार श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि उनलाई शनिवार साँझ कोशी अस्पतालमा भर्ना गरिएको थियो । यसअघि पनि उनलाई पटक-पटक अस्पताल भर्ना गर्ने गरिएको उनले जानकारी दिए ।

Advertisement

‘उहाँको मुद्दा विचाराधीन नै छ । एक लाख ८० हजार धरौटी बुझाउन नसक्दा अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान हुनुभएको थियो’, उनले संगालोखबरसँग भने, ‘२०८१ पुस १६ गते उहाँ कारागार चलान हुनुभएको थियो । मुद्दाको किनार नलागिकन उहाँको मृत्यु भयो ।’

शवलाई कोशी अस्पतालमै राखिएको र तामाङको परिवारलाई जानकारी गराइसकिएको उनले जानकारी दिए । परिवारका सदस्यहरू आएपछि आवश्यक प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।

महिला र पुरुष समेत गरेर ३ सय क्षमताको मोरङ कारागारमा आज बिहानसम्म एक हजार ३८ कैदीबन्दी रहेका उनले बताए । जसमा नौ सय २८ पुरुष, एक सय सात महिला र तीन जना नाबालक छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!