
धनकुटा । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले पात्रहरू गलत भएपनि लोकतन्त्र गलत हुन नसक्ने बताएका छन् ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासङ्घ धनकुटाले आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर तामाङले यस्तो बताएका हुन् ।
लोकतन्त्र सबैले आफ्ना कुरा राख्न पाउने व्यवस्था भएको बताउँदै व्यक्तिगत स्वार्थका कारण केही समस्या सिर्जना भएको उनको भनाइ छ । ति समस्या लोकतन्त्रले नल्याएको उनले उल्लेख गरे ।

‘लोकतन्त्र बाहेक हाम्रो अन्य विकल्प हुन सक्दैन’, उनले भने, ‘केही समस्या आउन खोजेपनि यसमा हाम्रो आचरण, जीवनशैली र नेतृत्वकर्ताहरूले आफूलाई परिवर्तित गर्नुपर्दछ ।’
पत्रकार महासङ्घ धनकुटाले वेबसाइटको समेत शुभारम्भ गरेको भन्दै उनले प्रशंसा गरे । अहिलेको प्रविधिको युग अनुसार आफूलाई ढाल्दै लग्नुपर्नेमा उनले जोड दिए । सोही अवसरमा महासङ्घले २०८२ सालको क्यालेण्डर पनि विमोचन गरेको छ ।

कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास, उपाध्यक्ष रविन कटेल र संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राईले लोकतन्त्रको मेरुदण्ड प्रेस स्वतन्त्रता भएको उल्लेख गरेका छन् ।

संगालोखबर 













