
विराटनगर । सूचनाको हकका लागि लामो समयदेखि क्रियाशील पत्रकार किशोर बुढाथोकी र सुरेन्द्र भण्डारी पुरस्कृत भएका छन् ।
उनीहरूलाई आज विराटनगरमा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । यस्तै पत्रकारितामा दीर्घ योगदान पुर्याएका अग्रज यज्ञ शर्मालाई सम्मान गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ मोरङले आयोजना गरेको ‘षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वितरण तथा अग्रज पत्रकार सम्मान समारोह’ मा एक लाख एक सय रुपैयाँ राशिको पुरस्कार बुढाथोकीलाई प्रदान गरियो । उनी विगत १३ वर्षदेखि सूचनाको हकका सवालमा सक्रिय छन् ।
झापाका पत्रकार सुरेन्द्र भण्डारीलाई भने २५ हजार २५ रुपैयाँ राशिको सूचनाको अधिकार प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो ।
उनीहरूलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पुरस्कार प्रदान गरे ।
पुरस्कार सिफारिस समितिको संयोजकत्व महासङ्घ मोरङ अध्यक्ष सुशीला पाठकले गरेकी थिइन् भने सदस्यमा अग्रज पत्रकार यज्ञ शर्मा र दाता परिवार प्रतिनिधि केदारबहादुर बस्नेत रहेका थिए ।
यसअघि सो पुरस्कार पत्रकारहरू तारानाथ दाहाल, शिव गाउँले, धर्मेन्द्र झा, गजेन्द्र बुढाथोकी, काशीराज दाहाल र विनय कसजूलाई प्रदान गरिएको थियो ।
यस्तै यसअघि प्रोत्साहन पुरस्कारबाट राजु श्रेष्ठ, मोहनकाजी न्यौपाने, गणेश लम्साल, देवनारायण साह र हरि अधिकारी पुरस्कृत भइसकेका छन् ।

संगालोखबर 













