संगालोखबर

विराटनगर । धनकुटामा विश्वकै लामो र दुर्लभ मानिने ‘किङ कोब्रा’ भेटिएको छ । महालक्ष्मी नगरपालिका-४ लेगुवामा ‘किङ कोब्रा’ भेटिएको हो ।

Advertisement

सर्प उद्दारकर्ता प्रदिप श्रेष्ठका अनुसार सम्भवतः धनकुटामा पहिलो पटक ‘किङ कोब्रा’ देखिएको हो । उनले सर्प उद्दार गरेर सुरक्षित साथ घरमा नै राखेको जानकारी दिए ।

‘डिभिजन वन कार्यालयलाई खबर गरेको छु । आउँछौँ भन्नुभएको छ’, उनले संगालोखबरसँग भने, ‘तर अहिलेसम्म आउनुभएको छैन । उहाँहरूले खासै चासो दिएजस्तो लागेन ।’

स्थानीयले बैशाख १८ गते सर्प देखेपछि श्रेष्ठलाई खबर गरेका थिए । तर उनी बाहिर भएकाले जान नसकेपछि स्थानीयले सर्पलाई खेदाएका थिए । ‘१९ गते पनि सर्प देखिएपछि स्थानीयले खबर गर्नुभयो’, उनले भने, ‘करिब चार घण्टा लगाएर उद्दार गरे ।’

उक्त सर्पको लम्बाइ साढे १२ फुट र सात किलो तौल रहेको उनले बताए । यो सबैभन्दा विषालु सर्प रहेको उनले सुनाए । करिब पाँच वर्षदेखि सर्प उद्दार गर्दै आएका श्रेष्ठले तीन सय हाराहारीमा सर्प उद्दार गरिसकेका छन् ।

‘सर्प उद्दारमा बोलाउने बित्तिकै समय मिलेसम्म पुग्ने गरेको छु’, उनी भन्छन्, ‘आफ्नै खर्चमा सबै काम गर्नुपर्छ । सीमित श्रोत साधनका कारण समस्या र खतरा पनि हुने गर्छ । स्थानीय सरकारसँग आवश्यक सामग्रीको पहल गर्दा पनि सुनुवाइ भएको छैन ।’

धनकुटामा पहिलो पटक भएपनि अन्य जिल्लाबाट ‘किङ कोब्रा’ को यो भन्दा अगाडि पनि उद्दार गरिसकेको उनले सुनाए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!