धनकुटा । धनकुटामा दौड प्रतियोगिता भएको छ । क्यूआर धनकुटाको स्थापना दिवसका अवसरमा बिहीबार दौड प्रतियोगिता भएको हो । ‘अब दौडन्छ धनकुटा भन्ने’ मूल नाराका साथ खुल्लातर्फ पाँच हजार मिटर, महिलातर्फ तीन हजार मिटर र भेट्रान्सतर्फ पाँच हजार मिटरको दौड भएको थियो ।
सबै विधामा दुई सय २८ जना धावकहरू सहभागी थिए । तल्लो टुँडिखेलबाट सुरु भएको दौड तल्लो कोप्चे, बिहीबारे हटिया, माथिल्लो कोप्चे, भीमनारायण चोक, भीमसेन थान, परिचय मोड, मदन चोक लगायतका स्थान पार गर्दै पुनः टुँडिखेलमा आएर सम्पन्न भएको थियो ।
खुल्लातर्फ ओसन राई प्रथम हुँदा कुलमान राई द्वितीय र साजन पुलामी मगर तृतीय भए । उनीहरूले क्रमशः १० हजार, सात हजार पाँच सय र पाँच हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र हात पारेका थिए ।
यस्तै महिलातर्फ पुष्पा सेर्मा लिम्बू प्रथम भइन् भने दीक्षा राई द्वितीय र कल्पना राई तृतीय भइन् । उनीहरूले क्रमशः सात हजार, पाँच हजार र तीन हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।
भेट्रान्सतर्फ विजय कुमार राई प्रथम, मङ्गल तामाङ द्वितीय र कुमार पाहिम लिम्बू तृतीय भए । उनीहरूले क्रमशः पाँच हजार, तीन हजार र दुई हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र पाए ।
सात वर्षीय आरम्भ ढकाल सहित ८ जना बालबालिकालाई प्रतियोगितामा सहभागिता जनाएको भन्दै प्रोत्साहनस्वरुप एक/एक हजार नगद प्रदान नगरिएको छ । यस्तै ६१ वर्षीय रामप्रसाद उराउले नगद एक हजार पाँच सय रुपैयाँ पाए ।
प्रतियोगिताका विजयीहरूलाई धनकुटा नगरपालिकाका उपप्रमुख भिमादेवी खनाल, भलिबल सङ्घ धनकुटाका अध्यक्ष गौरव कार्की लगायतले पुरस्कार वितरण गरेका थिए ।