धनकुटा । धनकुटाबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका-६ सुकेटारका २३ वर्षीय विषम गुरुङ पक्राउ परेका हुन् ।
साँगुरीगढी गाँउपालिका-६ भेडेटार स्थित गाँसबास होटलमा झापाको कन्काई नगरपालिका-३ का २९ वर्षीय रोशन भण्डारीले पार्किङ गरेर राखेको प्र.१-०१-०१६ प ७६९७ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको थियो ।
प्रहरीका अनुसार आज बिहान होटलबाट निक्लने क्रममा उनले मोटरसाइकल चोरी भएको थाहा पाएका थिए । उनले तत्कालै इलाका प्रहरी कार्यालय भेडेटारमा मोटरसाइकल चोरी भएको जानकारी गराएका थिए ।
मोटरसाइकल चोरी भएको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले गुरुङलाई भेडेटार बजारबाट नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार गुरुङ सोही होटलमा काम गर्दै आएका थिए । उनले सुनसरीको धरान-२ भानु चोकस्थित यात्रु सहायता कक्ष अगाडि मोटरसाइकल छोडेर आएका थिए ।
प्रहरीले मोटरसाइकल बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको धनकुटा प्रहरीले जनाएको छ ।