धनकुटा । धनकुटाको महालक्ष्मी नगर क्षेत्रमा निजी विद्यालयका सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । सबै विद्यार्थीहरूलाई सामुदायिक विद्यालयमा पढाउन लागिपरेको महालक्ष्मी नगरपालिकाले अन्य क्षेत्रबाट विद्यार्थी लिन आउने बोडिङ स्कुलका गाडीलाई पनि नगर क्षेत्रमा प्रवेश गर्न नदिने भएको हो ।
महालक्ष्मी नगरपालिकाका मेयर ध्रुवराज रायाले आज सूचना जारी गर्दै अब कुनैपनि निजी स्कुलका सवारी साधनलाई विद्यार्थी ओसार्न नगर क्षेत्रमा प्रवेश नदिइने उल्लेख गरेका छन् । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै निजी स्कुलको भन्दा राम्रो शिक्षा प्रदान गर्ने उद्देश्यसहित सबै विद्यार्थीलाई सामुदायिक विद्यालयमै पढाउने वातावरण निर्माण गर्न खोजिएको मेयर रायाको भनाई छ ।
‘हामीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम गरिरहेका छौँ । सरकारी स्कुलमा पनि बोडिङ स्कुलको जत्तिकै राम्रो पढाई हुनुपर्छ भनेर लागिरहेका छौँ,’ मेयर रायाले संगालोखबरसँग भने, ‘महालक्ष्मीका सबै विद्यार्थी सामुदायिक विद्यालयमै पढून् र सुलभ रुपमा राम्रो शिक्षा पाउन भन्ने हाम्रो चाहना हो ।’
नगरपालिकाले सञ्चालकहरूसँगै समन्वय गरेर नगर क्षेत्रका अधिकांश निजी स्कुल बन्द गराइसकेको छ । अब, महालक्ष्मी नगर क्षेत्रभित्र लेगुवामा मात्र एउटा निजी स्कुल बाँकी छ । त्यो पनि आगामी वर्षभित्र बन्द हुने र सबै विद्यार्थीलाई सामुदायिक विद्यालयबाटै गुणस्तरीय शिक्षा प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
छथरजोरपाटीको सिधुवा लगायत क्षेत्रका वोडिङ स्कुलहरूले महालक्ष्मीको मुर्तिढुंगासहित आसपास क्षेत्रका विद्यार्थीहरूलाई गाडीमा लैजाने गरेको पाइएपछि नगरपालिकाले निजी क्षेत्रका गाडीलाई प्रवेशमा रोक लगाउने निर्णय लिएको हो ।
भिडियो…