धनकुटा । कोसी उच्च बाँध पीडित सङ्घर्ष समितिको अध्यक्षमा धनकुटाको सहिदभूमि गाउँपालिका-२ का असिम राई सर्वसम्मत चयन भएका छन् ।
सहिदभूमि गाउँपालिका-१ सिम्लेमा समाजसेवी गणेश राईको अध्यक्षता तथा सप्तकोसी जनअधिकार मञ्चका केन्द्रीय अध्यक्ष बलबहादुर राईको प्रमुख आतिथ्यमा भएको भेलाले अध्यक्षमा राईलाई सर्वसम्मत गर्दै ७१ सदस्यीय समिति चयन गरेको हो ।
उपाध्यक्षमा उदयपुरका लोकेन्द्र राई, सचिवमा सहिदभूमि-१ का छत्र प्रसाद राई, सह-सचिवमा साँगुरीगढी गाउँपालिकाका अजित राई र कोषाध्यक्षमा सहिदभूमि-१ का चन्द्रकला राई सर्वसम्मत चयन भए ।
कोसी उच्च बाँध निर्माण नेपाल र नेपालीहरूको हितमा नभएको तथा यस सम्बन्धमा २०६० सालदेखि आवाज उठाउँदै आएको प्रमुख अतिथि राईले बताए ।
देशको राजनीतिक अस्थिरताका कारण विगतदेखि हालसम्म शक्ति सम्पन्न राष्ट्रहरूले नेपालको जल, जमिन र जङ्गलमा हस्तक्षेपकारी नीति र हेपाहा प्रवृत्ति देखाउँदै आएका उनले उल्लेख गरे । उनले यसका विरुद्धमा सबै एक भएर लड्नुको विकल्प नभएको बताए ।
भेलमा धनकुटा, भोजपुर र उदयपुरका दुई सय कोसी उच्च बाँध पीडितहरू सहभागि थिए । आगामी दिनमा अन्य जिल्लाका कोसी उच्च बाँध पीडितहरूलाई समेट्दै सङ्घर्षका थप कार्यक्रमहरू गर्नै नवनिर्वाचित अध्यक्ष राईले बताए ।
भेलामा सहभागीहरूले कोसीमा उच्च बाँधका कारण हजारौंको उठिबास लाग्ने भएकाले बाँध बन्न नहुने उल्लेख गरे ।