विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका-९ मा ट्याक्टर दुर्घटना हुँदा एक् जनाको मृत्यु भएको छ । आज दिउँसो मधुमल्ला-उर्लाबारी सडक खण्डमा भएको दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
उर्लाबारी नगरपालिका-४ का अन्दाजी २० वर्षीय लाजेहाङ लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका उनलाई उपचारका लागि मदन भण्डारी ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा ट्याक्टर चालक उर्लाबारी-५ का २९ वर्षीय दिलबहादुर धिमाल, १८ वर्षीय निर्जल बिक, २० वर्षीय सुरज बर्देवा र १६ वर्षीय अमिर सुनुवार घाइते भएका छन् । उनीहरूको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ ।
मधुमल्लाबाट उर्लाबारीतर्फ आउँदै गरेको मे २ त ८३५६ नम्बरको खाली ट्याक्टर आफैँ अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
तीब्र गतिका कारण ट्याक्टर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।