
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-७ सृजना टोलमा आगलागी भएको छ । शनिबार राति भएको आगलागीमा परेर ८० वर्षीया तुलामाया गुरुङ घाइते भएका छन् । प्रहरीका अनुसार उनको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको छ ।
उनको जस्तापाताको छानो भएको एक तले पक्की घरमा राति ११ः३० बजेतिर आगलागी भएको थियो । आगलागीबाट घरसहित घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, काठपातलगायतका सामग्री जलेका छन् ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट करिब चार लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले स्थानीय र दमकलको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिएको थियो ।